आदिवासी जनजातिको नाम बेचेर हिलपार्कमा जनजाति संग्रहालय बनाउने तरखर तर, निर्माण प्रक्रियामा सिङ्गो छाता संगठन नेफिनलाई वायस, माफियाको चलखेल

संग्रहालय विरोधी होइनौं तर संग्रहालय आदिवासी जनजातिको हितमा नभएको नेफिन रुपन्देहीको ठहर

बुटवल । प्रदेश पाँच बुटवल उपमहानगरपालिका वडा नं–७ हिलपार्क परिसर भित्र करिब २ करोड लागतमा निर्माणाधिन आदिवासी जनजाति संग्रहालय निर्माण प्रक्रियाप्रति मूख्य सरोकारवाला नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् (नेफिन) रुपन्देही लगायत रुपन्देहीमा क्रियाशिल मगर, गुरुङ सहित ११ एकल जातीय संगठनहरुले असहमती जनाउँदै निर्माण प्रक्रियाबाट बाहिरिएको घोेषणा गरेका छन् । उनीहरुले बुधबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्यालको नेतृत्वमा बुटवलमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएका हुन् । आदिवासी जनजातिहरुलाई बाइपास गरेर आदिवासी जनजातिका पहिचान झल्काउन सक्ने गरि संग्रहालयले वास्तविक आदिवासी जनजातिको परम्परा, संस्कार, सस्कृति र पहिचानको संरक्षण गर्न नसक्ने बताए । करिब १० वर्ष अघिदेखि आदिवासी जनजाति लक्षित सरकारबाट विनियोजित रकमबाट महासंघको अगुवाइमा निर्माण थालिएको संग्रहालय पछिल्लो समय बुटवल हिलपार्कले एकलौटी र सुनियोजित रुपमा आदिवासी जनजाति पनि नभनी जनजाति संग्रहालय मात्रै नामाकरण गरेर निर्माण प्रक्रियालाई अगाडि बढाउन खोजेको आदिवासी जनजातिहरुले आरोप लगाएका छन् । आदिवासी जनजाति सग्रहालयका लागि भन्दै हङ्कङ्मा बसोबास गरेका नेपालीहरुबाट करिब ४७ लाख रुपैयाँ संकलन गरिएको बताइन्छ । सो मध्येबाट ३० लाख रुपैयाँ केहि दिन अगाडि मात्रै हंकङमा आदिवासी जनजाति संग्रहालयका लागि भन्दै रकम संकलन समितिका संयोजक हेमराज थापा, पुरन खड्का, गणेशजंग राना लगायतले हिलपार्क परिषद्लाई ३० लाख रकमको चेक एमाले नेता एवं प्रदेश सांसद लिला गिरीको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
त्यसपछि संग्रहालय निर्माण आन्तरिक विवाद झनै बाहिर सतहमा आएको हो । संग्रहालय निर्माण, निर्माणपछि भोगचलन र स्वामित्व, संचालन तथा त्यसबाट प्राप्त हुने आम्दानी श्रोतमा आदिवासी जनजाति महासंघको भूमिका र जिम्मेवारी केही पनि स्पष्ट नपारी बाइपास गरेर बुटवल हिलपार्क परिषद एकलौटी ढंगले अघि बढेकाले आफूहरुले विमति जनाई अलग्गिनु परेको महासंघका अध्यक्ष दलबहादुर छन्त्यालले बताए । ‘देश तथा विदेशमा आदिवासी जनजाति संग्रहालय निर्माण गर्ने भनि आम आदिवासी जनजाति समुदायसंग आर्थिक संकलन गर्ने तर सरोकारवाला संस्थाहरुसंग समन्वय नगरी वाइपास गरेर ‘बुटवल हिलपार्क परिषद्’ क्लब जस्तो संस्थाले सिङ्गो आदिवासी जनजाति समुदायको अख्तियारी गर्नु र दिनु नियम संगत छैन । यसमा हाम्रो विमती छ ।’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ –‘यसले वास्तविक आदिवासी जनजातिको विविधतालाई संरक्षण गर्ने तर्फ प्रेरित नभई व्यवसायिक अभिष्टबाट प्रेरित भएको महासंघको ठहर छ ।’ पत्रकार सम्मेलनमा बुटवल हिलपार्क परिषद्ले संग्रहालय निर्माणमा एकलौटी नेतृत्व र स्वामित्व लिन खोज्नु जायज र न्यायोचित नभएको नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारु मगरले बताइन् । ‘जनजाति संग्रहालय निर्माणको नेतृत्व आदिवासी जनजाति महासंघले गर्दा बढी न्यायपूर्ण र स्वाभाविक हुन्छ भन्ने हाम्रो मान्यता हो,’ सारुमगरले भनिन्, ‘संग्रहालय बन्नु ठूलो कुरा होइन, मुख्य सरोकारवाला समुदायको संस्थागत सहभागिता र सहकार्य महत्वपूर्ण हो, त्यसो हुन नसके समस्या आउन सक्छ ।’ आदिवासी जनजाति लक्षित वर्गको नाममा विनियोजित रकमहरु समेत त्यसमा खर्च भएको तर त्यस अनुरुप काम र प्रक्रिया अघि नबढेकाले आगामी दिनमा बजेट विनियोजन नगर्न नेपाल सरकारलाई महासंघले अनुरोध गरेको छ । साथै आदिवासी जनजातिको संग्रहालय निर्माण भन्दै केहि व्यक्तिहरुको समूहले सरकारी निकायसंग बजेट माग गर्ने र रकम संकलन गर्ने कार्य गरिरहेको प्रति महासंघले आपत्ति जनाएको छ । पछिल्लो समय संग्रहालयको नाममा देश तथा विदेशमा आर्थिक सहयोग संकलन गर्ने तर निर्माण गर्ने सन्दर्भमा आदिवासी जनजाति सरोकारवालाहरुसंग अर्थपूर्ण र तात्विक सहकार्य नगरी आफ्ना व्यक्तिगत स्वार्थ र लाभका लागि रकम संकलन गर्ने व्यक्ति र समूहप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना समेत गरेको छ । जारी विज्ञप्तिमा लेखिएको छ– ‘अब उप्राप्त महासंघको आधिकारिक निर्णयविना कुनै पनि नाममा आर्थिक सहयोग नउठाउन र नदिन सम्बन्धित सबैमा अपील गर्दछौं ।’
संग्रहालय निर्माण प्रकृयामा विमति जनाउँदै अलग्गिने संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, तमु ह्युल छोंज धिं, थारु कल्याणकारिणी सभा, नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ संघ, थकाली सेवा समिति, भुजेल सेवा समाज, नेवा पुचः, कुसबडिया उत्थान संघ, कुमाल सुधार समिति र किरात राई यायोक्खा रहेका छन् ।
के हो विवाद् र समस्या ?
संग्रहालय निर्माणका लागि रकम आएपछि मात्रै समस्या सुरु नभएको महासंघले स्पष्ट पारेको छ । विगतका वर्षदेखि संग्रहालय निर्माण प्रक्रियामा हिलपार्क परिषद् समितिले एक रुपैयाँ पनि लगानी गरेको छैन भने आदिवासी जनजातिका लागि छुट्टिने रकमबाट त्यहाँ संग्रहालयको जग निर्माण गर्ने काम भएको छ । तर, त्यहि जगलाई पनि घाँस हटाउने र झाडी सफा गर्ने काम सम्म पनि हिलपार्कले गर्न सकेको छैन भने निर्माणका लागि उसले आदिवासी जनजाति लगायतलाई उक्साउँदै आफुले व्यवसायिक रुपमा लाभ लिन मात्रै खोजेको देखिन्छ । हिलपार्कले आफ्नो लगानी भने त्यहाँ फसाउन चाहाँदैन । हिलपार्कले लगानी नगर्ने तर लगानी आदिवासी जनजातिलाई गर भन्ने र, बनेपछि सबै स्वामित्व र अधिकार आदिवासी जनजातिलाई नदिएर आफै राख्ने नियतका साथ अघि बढेको हिलपार्क परिषद् यस विषयमा लचिलो बन्न चाहँदैन । यहाँबाट नै संग्रहालय विवाद सुरु भएको हो । एक वर्ष अगाडि नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाडौंले करिब २० लाख भवन निर्माणका लागि सहयोग दिने भनेर स्थलगत अध्ययन गरेको थियो । तर, अध्ययन रिपोर्टपछि संग्रहालय निर्माण स्थल÷जग्गा आदिवासी जनजाति महासंघको नाम र स्वामित्वमा नरहेको कारण देखाउँदै बजेट दिन स्वीकार गरेन । यो कारणले गर्दा महासंघले हिलपार्कसंग स्वामित्व र निर्माण पछिको आम्दानी र भोगचलनको विषयमा कुरा उठाएको थियो । तर, पटक–पटकको बैठकमा भोगचलनको विषयमा हिलपार्कले इन्कार गर्दै आइरहेको छ ।
यहि विषयमा समस्या समाधान नभएकै बेला हङ्कङ्बाट रकम हस्तान्तरण गर्न भन्दै हेमराज थापा, पुरन खड्का क्षेत्री र गणेशजंग राना लगायतका व्यक्तिहरु नेपाल आएपछि महासंघले सबै एकल जातीय अध्यक्षहरुको उपस्थितिमा हेमराज थापासंग बैठक गरि विवादको विषयमा जानकारी र छलफल गरेको थियो । तर, सो बैठकमा हेमराज थापाले हिलपार्कमा संग्रहालय निर्माण आफ्नो भिजन र योजना रहेको धारणा राख्दै जसरी पनि रकम हस्तान्तरण गरेरै छाड्ने मनसाय व्यक्त गरेका थिए । महासंघले उनलाई संग्रहालय निर्माण गर्नु राम्रो रहेको तर, निर्माणमा आदिवासी समेत उल्लेख नगरी जनजाति मात्रै राखेर अगाडि बढेको र निर्माणबाट आदिवासी जनजातिको हित नदेखिएकाले रकम हस्तान्तरणको विषयमा सोच्न सुझाब दिएका थिए । त्यसको भोलिपल्ट हिलपार्क समितिलाई महासंघले बैठकमा समेत बोलाएको थियो । तर, त्यस बैठकमा हिलपार्क समितिका अध्यक्षले पूर्व अध्यक्ष होम गलामी आए आफु आउने नत्र नआउने फोनबाट जानकारी लिंदा सो कुरा बताएका थिए तर त्यहि समय होम गलामी भने फोन रिसिभ नगरेर बसेका थिए । उनले त्यो समयमा बैठकमा उपस्थित हुन नदिएर जनमुक्ति पार्टीका साथीहरुले विरोध गरे भन्दै केहि व्यक्तिहरुलाई सेन्टिमेन्टमा बहकाउन खोजेको श्रोतले जानकारी दियो । यसरी व्यक्तिगत स्वार्थमा अल्झिएर सिङ्गो आदिवासी जनजातिहरुको छाता संस्था महासंघलाई नै केहि व्यक्तिहरुले चुनौती दिएपछि महासंघले आदिवासी जनजातिको हित सम्झिदै आफ्नो अडानलाई कायम राखेको महासंघ अध्यक्षले बताउनु भयो । हिलपार्क र आदिवासी जनजाति महासंघ सम्बद्ध नरहेका होम गलामीले हिलपार्कमा संग्रहालय निर्माणका लागि भन्दै मनोमानी महासंघका अध्यक्षलाई सहसंयोजक राखेर आफु संयोजक भएर एकल जातीय संगठनलाई रकम संकलनका लागि कोटा समेत तोकेका छन् । यस अन्तर्गत मगर संघलाई ४० लाख, तमुलाई २५ लाख रकम संकलनका लागि आफ्नो फेबरका एकल जातीय पदाधिकारीहरुलाई एकल रुपमा भेटेर मनाउने प्रयास गरेका थिए । तर, आफुहरुको फेबरमा नरहेका एकल जातीय अध्यक्षहरुलाई भने जानकारी समेत दिएका थिएनन् । यसरी संग्रहालय निर्माणको नाममा व्यक्तिगत स्वार्थ र शंकाको वातावरण सिर्जना भएपछि पुनः महासंघले संकलित रकम हस्तान्तरणका लागि हेमराज थापा लगायतका टिमलाई रकम हस्तान्तरणमा अझै विचार पु¥याउन अनुरोध गरेका थिए । तर, भविष्यमा अमुक राजनैतिक लाभ लिन र पहँुच बढाउनका लागि कुनियत रुपमा रकम संकलन गरेका थापाले यस कुरालाई वेवास्ता गर्दै, आदिवासी जनजातिको नाममा आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन चाहेका थापाले एक कानले सुनेर अर्को कानले उडाउँदै आदिवासी जनजातिका छोराछोरीले विदेशमा पसिना चुहाएर सहयोग गरेको रकम आदिवासी जनजातिहरुलाई वायस गर्दै बुझाएको महासंघका एक पदाधीकारीले बताए ।।

स्रोत : संघिय एक्सप्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *