एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने दुरी लम्बियो

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने भएको छ । विवादित विषयको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेपछि पूर्वनिर्धारित मितिमा पार्टी एकता हुने सम्भावना टरेको हो ।

सहमति जुटन नसकेपछि बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मेबारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै पार्टी एकता गर्ने प्रयास पनि दुई दलले गरेपनि केही विषयमा मतभेद कायमै रहेकाले असफल भएको थियो । चुनाव चिन्ह, प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषय टुंगो अझै लाग्न सकेको छैन ।

त्यस्तै एकीकरण गर्दा निर्माण गरिने केन्द्रीय समिति र पोलिटब्युरो समितिमा एमाले र माओवादीको हिस्सामा पनि सहमति जुटन सकेको छैन । पछिल्लो समय माओवादीले पचास प्रतिशत हैसियत पाउनुपर्ने अडान राख्दै आएको छ । एमालेले भने निर्वाचन परिणामका आधारमा साठी–चालिसको भाडबण्डा हुनुपर्ने दाबी गर्दै आएको छ ।

पार्टी एकताको गृहकार्य गर्न बनेको कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलका प्रतिवेदन बुझ्ने क्रममा वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन एमाले माओवादी पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *