जनमुक्तिको आव्हानमा शान्तिपूर्ण, किरांत- लिम्बुवान-खम्बुवान बन्द सम्पन्न

साउन-२२, धरान । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आव्हान गरेको बन्दका कारण आज पुर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । परिषदले आज एक दिन पुर्वका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा बन्द आव्हान गरेको हो । बन्दका कारण पुर्व क्षेत्रमा आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

बन्दका कारण धरानबाट कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन ठप्प भएका छन् भने पूर्व पश्चिम चल्ने यात्रुवाहक सवारी साधन आंशिक रुपमा चलेका छन् । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा रहेका छन । बन्दका कांरण बजार, शिक्षण संस्था, उद्योग धन्दा लगायत प्रभावित भएका छन ।
१८३१ साल साउन २२ गते नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्दा लिम्बुवान भूमि गुमेको दिनलाई स्मरण गर्दै पार्टीले प्रस्तावित लिम्बुवान क्षेत्र बन्द गराएको पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकलाई बताए। ‘नेपाल एकीकरण गर्दा हाम्रो पहिचान गुमेको दिन साउन २२ लाई हामी सधैं कालो दिनका रूपमा मनाउँदै आएकाछौं,’ उनले भने, ‘आज पनि त्यही स्मरणमा आमहड्ताल गरेका हौं।’ अध्यक्ष पालुङ्वाले नेपाल एकीकरण गर्दा पाएको स्वायत्त अधिकारसमेत त्यसपछि गुमेको र त्यसैको प्राप्तिका लागि आफूहरू आन्दोलनमै रहेको पनि जनाए।

मंगलबारको आमहड्ताल प्रचार गर्दै हिँडेको पार्टीका ५० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए। ‘धरान र दमकमा आजको बन्द प्रचारक्रममा सुरक्षाकर्मीले हाम्रा ५० जति नेता–कार्यकर्ता नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘उनीहरूको निसर्त रिहाई हुनुपर्छ।’ पक्राउ परेकामध्ये केहीलाई छाडेपनि धेरैजना अझै नियन्त्रणमै रहेको पार्टीले जनाएको छ। आमहड्ताल बेलुका ५ बजेपछि खुल्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *