के पहिचान जनित संघियता सदाका लागि गुमेकै हो त ?

टि. बि. पुन । बास्तबमा जातीय पहिचानको राज्य, स्वायत्तता र स्वसासन अनि राजतन्त्रको अन्त्य र गणतन्त्रको कुरा नेपालमा तत्कालीन बिद्रोही माओवादी साम्यवादिहरुले साढे दुई दशक पहिले देखि उठाएका हुन भने मधेशी सदभावना पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी आदि जस्ता लोकतान्त्रिक राजनीतिक दलहरुले धर्मनिरपेक्षता, जातीय जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व, आरक्षण, सबै जातिको पुर्ण सामेलि सहभागीता, संघीयता, एकल जातिवाद ब्राह्मणवादको अन्त्य र लोकतान्त्रिक राज्य ब्यबस्थाको स्थापनाको माग राखी तीन दशक पहिले देखि आन्दोलन गरेको देखिन्छ ।
२०६२/६३ सालको जनआन्दोलन पश्च्यात माओवादि शान्ति प्रक्रियामा आएपछि नेपालमा संघीयता व्यापक बहसको केन्द्रीय विषय बन्न गयो । एकथरी संघीयता हुनुहुदैन संघीयताले देश टुक्राटुक्रा हुन्छ भन्ने अति एकात्मक पुरातनवादी केन्द्रिकृत सोच आयो भने अर्कोथरी संघीयता चाहिन्छ तर जातीय पहिचान होइन यहि भैरहेको जगेडा राज्य ब्यबस्थामा केही सुधार परिस्कृत परिमार्जन गर्न सकिन्छ भने सोच थियो । अर्को चाहिँ जातीय पहिचानको आधारमा संघीयता चाहिन्छ भन्ने नयाँ सोच आमूल परिवर्तनका सोच राख्ने मानिसहरु थिए । अन्ततः पहिलो र दोस्रो सोच भएको पुरातन यथास्थितिवादी राजनीतिक पार्टीको बिजय भयो । देश अहिले नाममात्रको संघीयतामा गएको छ ।
संघीयताको चर्को बहस चलिरहेको यहि राजनीतिक परिवेशमा जातिय पहिचान पक्षधर संघियतावादिलाइ केही खुराक ज्ञानको स्रोत सामाग्री हुन सक्दछ भन्ने सोचेर मैले आजभन्दा १० बर्ष पहिले २०६५ सालमा प्रस्तुत पुस्तक प्रकाशन गरेको थिए । प्रकाशक बागलुङ बजार गूठी निवासी आदरणीय दिदी सुनमाया थापा मगर हुनुहुन्थ्यो । प्रस्तुत पुस्तकमा संघियता आदिवासीय ऐतिहासिक जातिय पहिचान, भूगोल, मुल बासस्थान, सघन जातीय जनसंख्या, भासा, धर्म संस्कृति आदि पहिचानमा आधारित हुनुपर्छ र प्रादेशिक राज्यको नामहरु:- मगरात, तमुवान,नेवा:, तामासालिङ्ग, लिम्बुवान, खम्बुवान, थरुहट, खसान आदि ऐतिहासिक जातीय पहिचान जनित नामहरु राखिनु पर्दछ भन्ने मेरो तर्क थियो । जातिले स्वशासन र स्वायत्तताको अभ्यास गर्न पाउनु पर्दछ भन्ने मेरो पुस्तकको केन्द्रीय विषयहरु थिए ।
हामीले अब पार्टीगत मात्रै होइन । पृथक जातिगत समुदायगत रूपमा पनि बहस छलफल चलाउ भन्दाखेरि यस विषयमा कतिपयले मेरो प्रकाशित पुस्तक अनि मेरो समेत आलोचना गरेको कुरा आज पनि म बिर्सन सक्दिन ।

आज समय घटकिसकेको छ । तिनै सुतेका नकारात्मक सोच राख्ने मानिसहरू आज ब्युझेर जातीय पहिचान सहितको संघीयता नआएमा हामी यो गर्ने छौँ, त्यो गर्नेछौं भन्ने नारा कटु वचन बोल्ने गरेको सुनिन्छ । समय आउँछ पर्खदैन । जे गर्नु छ उपयुक्त समयमा गर्नु राम्रो हुन्छ । अघि हेर्नू चारहात पछि हेर्नू बाह्रहात भन्दछ्न । फलाम तातेकै बेला घनले ठोक्यो भने आफुले के बनाउन खोजेको हो त्यही बस्तुको आकार लिन बनाउन सकिन्छ । सेलाएर चिसो भयो भने सकिदैन । हामी पहिचानको संघीयताको बहस आन्दोलनमा खरो रूपमा तार्किक बहस राखेर उत्रन सकेनौं । हामीमा यसको राम्रो ज्ञान, अध्यन अनि अभ्यास र सकारात्मक सोच पनि भएन । अरुलाइ बिस्वस्त पार्न पनि हामीले सकेनौं । केबल चर्को नारा र अरुको असम्यक बिरोध मात्रै गर्यौ ।
मेरो सन्द्रभमा कुरा गर्ने हो भने अहिले आफुले लेखेको पुस्तक पढेर मात्रै भएपनि म आफै आनन्दित छु । कमसेकम यो विषयमा मैले केही त भने, केही त लेखे । जाबो एउटा ब्यक्तिले गर्न पनि के नै सकिन्छ र ! अरुहरुले के गरिरहेका छ्न ? यस विषयमा मलाई आज खासै जानकारी पनि छैन । जातिको पहिचान छ । गुमेको होइन । हाम्रो असली पहिचान के त ? भन्ने मात्रै हो । अहिले धमिलो पहिचान स्थापित हुन नसकेको मात्रै हो ! पहिचान स्पष्ट र सङ्लो भयो भने त्यो अबस्य स्थापना भएरै छोडदछ ।
संगठन खोल, संगठित होउ, प्रचार गर, संघर्ष गर । जनतामा जाउ । भन्ने दार्शनिक गुरु माओको वाणीलाई पनि हामीले आत्मसात गर्नै पर्दछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *