कोरिया गएपछि बीचमै काम छाडेर आए फेरि जान नपाइने

काठमाडौं । दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू हुने भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर नेपाल फर्किने कामदारलाई पुन तेस्रो पटक कोरिया जान नपाइने नियम कोरिया सरकारले ल्याएको छ ।

यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।

दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर परजुलीले जानकारी दिए । अब सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन पाउँदैनन्,’ उनले भने, ‘विदामा आउनेको हकमा यो नियम छैन । तर, जागिर नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका दिँदैनन ।’

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइनेछ ।

तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *