जनमुक्तिको बिरोध कार्यक्रम सम्पन्न

प्रेमध्वज गाहा कावासोती नवलपरासी असार २४ ! बहुसँख्यक जनताको मागलाई बेवास्ता गर्दै प्रदेश नम्बर चारको नाम गण्डकी प्रदेश राखिएको प्रति राष्ट्रिय जनमुक्ति पार्टी सुस्ता पुर्ब नवलपरासीले बिरोध जनाएको छ । आइतबार कावासोती स्थित जिल्ला प्रशासन कार्यालयको परिषरमा कालो झण्डा प्रदर्शन गरी पार्टीले बिरोध जनाएको हो । जिल्ला अध्यक्ष तिल बहादुर झेँडीले नेतृत्व गर्नुभएको बिरोध कार्यक्रममा , सँघीय परिषद सदस्य नर बहादुर ठाडा मगर , जिल्ला उपाध्यक्ष तिलक थापा मगर , सचिव ओम बहादुर थापा मगर , सँगठन सचिव शत्रुुघन थापा मगर , कोषाध्यक्ष बुद्धि बहादुर सारु मगर , जिल्ला सदस्य हेम बहादुर बाचे मगर लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै सँघीय परिषद सदस्य नर बहादुर ठाडा मगरले , सरकारले पञ्चायतकालीन हुकुमी शासन लाद्न खोजेको आरोप लगाउनुभयो । ऐतिहासिकता तथा जातीय पहिचानका आधारमा प्रदेश नम्बर चारको नाम तमुवान मगराँत हुनुपर्नेमा बहुमतको दम्भ देखाउँदै प्रदेश सरकारले गण्डकी नाम राखेकोमा ठाडाले आपत्ति जनाउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीका अध्यक्ष तिल बहादुर झेँडीले प्रदेश नम्बर चारका अधिकाँश जनतालाई गण्डकी प्रदेश स्वीकार्य नभएको बताउनुभयो । गण्डकी प्रदेश स्वीकार गर्दैनौँ , ऐतिहासिक र थातथलोका आधारमा प्रदेश चारको नाम तमुवान मगराँत हुनुपर्छ वहाँले भन्नुभयो। अधिकाँश तमु र मगर समुदायको भावना माथि ठेस पु¥याउँदै गण्डकी प्रदेश घोषणा गर्ने काम प्रदेश सरकार आफैलाई प्रत्युत्पादक हुने चेतावनी समेत दिनुभयो । आदीवासी जनजातिको सघन बसोबास रहेको प्रदेशको नाम गण्डकी घोषणा भएको भन्दै वहाँले प्रदेश सरकारको निर्णय तुरुन्त फिर्ता लिन समेत आग्रह गर्नुभयो । बिरोध कार्यक्रममा उपस्थित पार्टी कार्यकर्ता तथा नेताहरुले कालोझण्डा देखाउँदै हातमा कालो पट्टी समेत बाँधेका थिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *