जी.बी याक्थुङबा (ज्ञानबहादुर हेम्ब्या) पहिलो आइजिपी (सातसालपछि जनताको छोरावाट)

कृष्णकुमार हेम्ब्या । ०७ को क्रान्ति सम्पन्न भएपछि राष्ट्रिय सेना विघटन गरी त्यसको ठाँउमा जनमुक्ति सेनालाई राख्नुपर्ने एकजना तीसवर्षिय युवाको प्रस्तावलाई विपि कोईरालाले अस्विकार गरिदिए । त्यसको ठीक दश वर्षपछि तिनै युवाले सोचे जस्तै सेनाले वी.पी कोईरालाकै जननिर्वाचित सरकारलाई अपदस्त गरिदियो । यि राजनीतिक दुरदर्शि व्यक्ति हुन ज्ञानबहादुर याकथुङ्घबा हेम्ब्या (जी.बी याक्थुङ्घबा) ।

प्रजातन्त्रका महान सेनानी याक्थुङबाको जन्म मार्च १६, १९२० का दिन आमा मोतीदेबी र बाबु मक्करजंग हेम्ब्याको कोखमा बर्माको मचिना होलिलाईनमा भएको हो । बाजे चक्रबहादुर अवसरको खोजिमा उनका बाबु मकरधोजलाई काखी च्यापेर वर्मा लागेका रहेछन् । माट्रिक गरेपछि वर्मा गोर्खा राइफलमा सिपहीको रुपमा भर्ती भएका याक्थुङबा असाधारण क्षमता देखाएवापत छिटै कमिसन अधिकृतमा पदोनन्ति भए । दोस्रो विश्वयुद्ध जापानविरुद्ध लडेका याकथुङबा आमाबाबुको असामयिक निधनमा विह्वलीत भइ नेपाल—भारत सीमावर्तीमा आएर वस्दा केही उत्साही युवाहरुको संपर्गमा आएपछि उनको पूरै जीवन नेपाली जनताका मुक्तिका लागि समर्पित भएको थियो । उनको पुख्याउली घर पाँचथर अमरपुर हेम्ब्या गाउँ हो ।

जहानिय राणा शासनबाट मुक्त गर्न नेपाली कांगे्रसले भारतका बिभिन्न ठाउँहरुमा राजनीतिक अभ्यास गरिरहेको थियो । सशस्त्र क्रान्ति बिना राणाहरुलाई पराजित गर्न सकिने अवस्था थिएन । सन् १९४८ मे २० ताारिकका दिन कलकत्ता चौरङ्घीमा बिश्वयुद्धमा संलग्न योद्धाहरु र केही उत्साही प्रबासी नेपाली युवाहरुबीच एउटा गोप्य बैठक बसी सशस्त्र क्रान्तिकारी दल गठन भयो । उक्त दलको नामकरण याक्थुङ्घबाले प्रस्तुत गरेको ‘जनमुक्ति सेना’ नाम राखियो । मेजर पूर्णसिंह ठाकुरको अध्यक्षतामा गठन भए पनि जनमुक्ति सेनाको संगठन बिस्तार, प्रशिक्षण तथा युद्ध सञ्चालनजस्ता सम्पूर्ण जिम्मेवारीहरु याक्थुङबालाई दिइयो । उनी बिरगन्ज, ठोरी उपरदाङ्गढी र बिराटनगरका मोर्चाहरुमा सक्रिय रहे पनि देशभरि क्रान्तिको योजना बनाउने, सञ्चालन गर्ने र त्यसको रेखदेख गर्नेसमेत उनैको काँधमा थियो । नेपाली जनताका पहिलो प्रहरी महानिरक्षकमा पनि उनैको नाम आउँछ ।

०७ को यिनै अग्रणी नायकको नाम आज आम नेपालीहरु बेखवरछन् । २००७ सालको क्रान्ति यता यो देशमा धेरै राजनीतिक घटनाहरु भईसके पनि राज्यले अझै निकास पाई नसकेको हामी सबैलाई अनुभुति भईरहेको छ । नेपाली जनताको चेतना स्तर अत्यन्तै कम भएको अवस्थामा त्यस्ता महान क्रांतिलाई सफलतापूर्बक सम्पन्न गराउनु निश्चय नै अत्यन्तै कुशल नेतृत्वको आवश्यक पर्दथ्यो । राणाहरुको आधुनिक हातहतियारद्धारा सुसज्जित चौबीस पल्टनलाई पराजित गर्न राजनैतिक शक्तिले मात्र सक्दैनथ्यो । त्यसका लागि तत्कालिन ब्रिटिश–ईण्डियाको तर्फबाट दोश्रो बिश्व युद्धमा लडेका र आजाद हिन्द फौजमा आबद्ध भई अंग्रेज उपनिवेशका बिरुद्ध लडेका थुप्रै नेपाली योद्धाहरुले सक्रियकासाथ लडेका थिए ।

क्रान्ति सम्पन्न भएपछि याकथुङवालाई ‘सि ल्कास’ दर्जासरह इलामको वडाहाकिमा थन्काइयो । उता जनमुक्ति सेनाको कमाण्डमा आफैविरुद्ध लडेका नोदविक्रम, नर शम्सेरहरु नियुक्ति भएपछि उनीहरु खुलेरै कांग्रेस र जनमुक्ति सेनाविरुद्ध लागे । सिंहदरवारमा वन्दी बनाएर राखिएको डा. के. आई. सिंहलाई मुक्त गराउनेहरु कुनै क्रान्तिकारी दस्ता नभएर राणाहरुकै षडयन्त्र थियो । अत्यन्तै सोझा र कामप्रति निष्ठवान ले. रामप्रसाद राईलाई कांग्रेस विरोधी कार्यक्रमा सहभागिता बनाएर फसाईयो । खुकुरीदलद्धारा गृहमन्त्री वी.पी कोईरालाको हत्या गर्न असफल प्रयास भए । राणा शासन फर्काउने यस्ता षडयन्त्रहरुबाट राजनीतिक क्षेत्रमा ठूलै हलचल मचिन थाल्यो र जनमुक्ति सेनामा विद्रोह हुने सम्भावना बढ्न थालेपछि इलामबाट तुरन्तै याकथुङवालाई काठमाडौं झिकाएर एकैचोटी डि.आई.जी पद दिइ रक्षादलको जिम्मा दिइयो ।

तत्कालीन रक्षादलका डि.आई.जी. हुदा उनलाई समाप्त पार्न राणाहरुले उकासेर कर्णेल शूरबीर राईको नेतृत्वमा सङ्घातिक आक्रमण गर्ने असफल प्रयास पनि भयो । तर यसको समयमै पर्दाफास भएकाले षडयन्त्रकारीहरु कारबाहीमा परे भने प्रघानमन्त्री मात्रिकाप्रसाद कोइराला याक्थुङबालाई आइ.जी.पी.मा नियुक्ती गर्न बाध्य भए । ३३ वर्षको कलिलो उमेरमा आइ.जी.पी भएर राणाहरुको इटा बोक्ने घरेलु कामदारकोरुपमा रहेको नेपाल प्रहरीलाई आधुनिकतामा परणित गरिदिए । तर याक्थुङबाको उन्नतीबाट त्रसित भएका राणाहरु मात्र होईन स्वयम् नेपाली कांग्रेस र राजासमेत उनको बिरुद्धमा खनिए । फलस्वरुप २०१२ भदौमा उनलाई अचानक वर्खास्त गरी त्रिपुरेश्वरको सरकारी गेष्टहाउसमा बन्दीका रुपमा राखियो । तर राजा महेन्द्रको आमाले सङ्कटको बेलामा मन, बचन र कर्मले सहयोग गर्ने याक्थुङबालाई यस्तो दःुख दिनु हुदैन भने पछि उनलाई बर्माको महाबारिज्य दूतमा पठाइयो । बर्मामा आवासीय राजदूत हुँदा दक्षिण पूर्ब एसियाली राष्ट्रहरुका कूटनैतिक प्रमुखहरुको डीन पनि थिए ।

त्यसबेलाका जनतालाई उत्साहित गर्ने जनमुक्ति सेनाले हरेक दिन गाईने गीत पनि यिनै याक्थुङ्घबाले रचेको उनका सहकर्र्मीहरु वताउछन् । २००७ मा उनको निकतम सहयोगी भएर क्रान्तिभर संगै रहेर काम गरेका योद्धा तथा “जनमुक्ति सेना एउटा नलेखिएको इतिहास” का लेखक श्यामकुमार तामाङको बिचारमा याक्थुङबा जस्ता निस्वार्थ एबम् राष्ट्रप्रेमी दशैजना मात्र भए मात्र पनि यो मुलुृक उहिले स्वीजरल्याण्ड भइसक्थ्यो । असी वसन्त पार गरेका उनकै अर्का सहयोद्धा नरेन्द्र लामा जोसिन्दै भन्छन्— याक्थुङबासंग यस्तो शक्ति थियो कि सशस्त्र युद्धमा मात्र होइन साधरण अड्डा, अदालत वा कुनै कार्यालयहरुमा उनी देखा पर्दासमेत मानिसहरुको भागाभाग हुन्थ्यो । मै भन्ने राणाजीहरुको पनि उनको नाम सुन्नेसाथ होसै हराउथ्यो । आखिर उनीसंग भएको हतियार भनेको केवल इमान्दारिता हो र जृनसुकैै काम निडर भएर सम्पन्न गर्दथे ।
याकथुङवा ५० वर्षको उमेरमा देहावसान भयो । थोरै बाचेर पनि धेरै काम गर्ने नेपालीहरुमा पर्छन उनी । उनी अत्यन्त निडर, साहसी राष्ट्रप्रेमी थिए । उनी दुश्मनहरुलाई थर्काएर राख्थे तर गरिब असाहयहरुलाई अअत्यन्तै माया गर्दथे । याकथुङवाको साहसको बारेमा वी.पी. कोईरालाको टिप्पणी यस्तो छः

मलाई याकथुङवा असाध्य मनपर्ने मान्छे जसमा आदम्य साहस थियो । सामन्य युद्धमा एक किसिमको योजना हुन्छ, तर क्रान्तिकारी कारवाहीमा अरु अभावहरुको पूर्ति साहस र आँटले गर्नुपर्छ । ती व्यक्ति याकथुङवा नै थिए । याकथुङवा सत्यसंग विश्वास गर्थे र धोकेवाजसंग अत्यन्त रिसाउँथे । उत्तमविक्तम राणाले धोका दिँदा याकथुङवाले रिसको झोंकमा एउटा खम्वामा हानेको खुकरी त्यस खम्वामा अड्की थर्र हल्लिन थाल्दा सबै ट्वाल्ल परेका थिए ।

०७ क्रान्तिको योगदानको लेखाजोखा गर्दा रामप्रसाद राई र नारादमुनी थुलुङलाई माथि राख्ने गफाडीहरुप्रति उनकै सहकर्मि श्यामकुमार तामाङ अस्विकार गर्छन् । तामाङका अनुसार याकथुङबा जनमुक्ति सेनाका कमाण्डर मात्र नभइ तत्कालीन नेपाली राजनीतिको चाबी उनैको हातमा थियो । चाहेको भए याकथुङवाले राज्यको सबै सत्ता सजिलै कब्जा लिनसक्ने शक्ति उनमा थियो । तर उनी इमान्दार भएकाले त्यसो गर्न चाहेनन् । थुलुङलाई भोजपुरको मिलिटेरी गभर्नर र राईलाई जनमुक्ति सेनाको मेजरमा नियुक्ति गर्ने याकथुङबासंग थुलुङ र राईको तुलना गर्नै सकिन्न । उनी औपचारिक राजनीतिक पदमा कहिले बसेनन् । तर रामप्रसाद राई र नारादमुनी थुलुङ त के तत्कालीन अवस्थामा मात्रिका, विपि, र सुवर्ण शम्सेरपछि याकथुङबाकै नाम आउथ्यो रानीतिक वृत्तमा ।

मानविय हिसावले याकथुङवाको पनि केही कमजोरी थिए होलान् । मुलुक भरखरै परिवर्तन हुन गइरहेको तत्कालीन अवस्थामा सबै शक्तिहरुलाई चिनेर समन्वय गर्न सकेनन् उनले । सबै शक्तिको केन्द्र नेपाली कांग्रेस र वी.पी. कोइरालामा मात्र देखे उनले । जन्मजात जनजातिहरुको उन्नति देख्न नसक्ने वी.पी. कोइराला र नेपाली कांग्रेसलाई आँखा चिम्लेर विश्वास गर्नु सबेै भन्दा ठूलो कमजोरी थियो याकथुङवाको । उता माँझ किरातको क्रान्तिबाट राजनीतिमा उदाएका नारदमुनि थुलुङ मात्रिका गुटका मतियार भएर जनतालाई धोका दिए । मात्रिका र वी.पी गुटमा फसेर नै पूर्वको धेरै मुद्दाहरु ओझलमा परेर गयो ।

याकथुङवालाई नजिकदेखि जान्ने दर्जन भन्दा धेरैसंग म आफैले भेटेर उनका वारेमा थुपै्र संवादहरु गरेको छु । याकथुङवालाई देख्ने जान्ने र सगैं काम गर्नेहरुको भनाइमा उनी विशिष्ट कार्यक्षमता भएका हेर्दै कमाण्डर देखिन्थे । उनका हरेक निर्णयहरु कठोर भएतापनि अन्ततः ती पारदर्शि र न्यायोचित हुन्थे । राम्रो कामका लागि निर्यण गर्न उनलाई कसैले रोक्न सक्तैनथे । उनलाई क्याविनेट वैठकमा जानबाट रोक्न कोहीसंग आँट हुँदैनथियो । सबैको एउटै बोली थियो— याकथुङवा जस्तो आकर्षक जीउडाल, असाधारण वौद्धिक क्षमता, दूरदर्शी, नैतिक विवेक, निष्ठा, साहस र सामथ्र्यले सम्पन्न व्यक्तिले देशको नेतृत्व लिएका भए आज यो मुुलुकका जनताहरु नत कोही धनी हुन्थे नत गरिव ।

निरङ्कुश राणा शासनबाट मातृभूमिलाई स्वतन्त्र गराउन आफ्नो जीवनको आहुति दिन पछि नपर्ने कैंयो बीर योद्धाहरुलाई राज्यले बेवास्ता गरेको छ । गुण्डागर्दीमा उत्रेर मृत्यु हुने कार्यकर्तालाई राजनीतिक दलहरुले खुलेआम शहिद घोषणा गरेपछि जनताहरु हैरान भएकाछन् । नदिनाला बेच्नेदेखि सिंगै जहाज खानेहरुको नाममा राज्यले अर्बौं खर्चेर हस्पिटल, सडकहरु निमार्ण गरे । र, यो क्रम अझै रोकिएको छैन । राणाशासन विरुद्ध क्रान्ति गर्न बनेको जनमुक्ति सेनालाई हाक्ने एक प्रमुख कमाण्डर तथा जनताका प्रथम प्रहरी महानिरक्षक ज्ञानबहादुर याक्थुङबालाई राज्यले सम्झनु त के उनका श्रीमतीले निवृत्त भरणको व्यवस्थासम्म गर्न सकेन ।

०७ को सशत्र क्रान्तिमा जाबो एकडेढ सय मजदुरको नेतृत्व गर्ने गिरिजाप्रसाद कोईराला पटक—पटक सरकार र राष्ट्र प्रमुखको कुर्सीमासमेत पुगे । क्रान्तिकै समयमा काम नपाएर कोइराला परिवारलाई भजाउन यता र उता कुरा ओसारेर पान चबाउदै हिड्ने कृष्णप्रसाद भट्टराईको नाममा राज्यले करोडौंको आश्रम निर्माण गरिदियो । कोही आफ्नी स्वास्नीको स्तुति लेखेर राष्ट्रकवि भए । राजनीतिकरुपमा नेपाली कांग्रेसलाई सुरक्षित अवतरण गराउने महत्वपूण भुमिका खेलेका याक्थुङबालाई उक्त पार्टी सत्तामा पुगेकै दिन बिर्सिदियो । त्यति मात्र कहाँ हो र नेपाली प्रहरीको आर्किटेक्क याक्थुङ्घबालाई आफ्नै संस्थाको वार्षिक उत्सवमा सम्झने परम्परासमेत छैन रहेछ । भगुवा राजालाई अमर शहिदहरु भन्दा माथि राखेर गर्ब गर्ने हामी नेपालीहरु, नेपाली जनताका मुक्ति आन्दोलनका महान योद्धा याक्थुङ्घबालाई विर्सन त्यति ठूूलो विषय नहुन सक्छ ।
राज्यले नहेरे पनि परिवारका सदस्यहरुले एउटा प्रतिष्ठानसम्म स्थपना गरी राष्ट्रलाई दिएको योगदान र उनको बलिदानपूर्ण इतिहासको कदर गर्नु पथ्र्यो भन्ने उनका सहयोद्धाहरुको गुनासोलाई न उनका परिवारले सुने नत संघसंस्थाहरुले । किरात याबथुङ चुम्लुङ र केही व्यक्तिहरुले याक्थुङबा परिवारलाई उनको नाममा एउटा प्रतिष्ठान स्थपना गरी स्मृति ग्रन्थ निकाल्ने अनुपति माग्दासमेत खासै ध्यान दिएको पाइएन । हुनपनि उनका सन्तानहरु सफल व्यवसाय देखि ठूला सरकारी जागिरे छन् । अलिसन महलमा बसेर गल्फ खेल्ने हैसियत भएका उनका सन्तानहरुले जित्नेहरुको मात्र इतिहास लेखिन्छ भन्ने भनाइलाई गलत साबित गरिदिए ।

उनी देहवासन भएको चार दशकपछि उनकै कान्छी श्रीमती इन्दिराको पहलमा डिल्ली इधिङ्गोले ‘जिबि याकथुङबा ‘अ च्याम्पियन अफ डेमोक्रेसी अ वायोग्राफि’ शिर्षकको पुस्तकसम्म लेखिएको छ । तर लेखकले केवल लेख्नकै लागि लेखि दिए । ज्ञानोदय स्कूलको परिसरमा याकथुङबाको मुर्ती उभाएर वा एउटा अपूर्ण पुस्तक सार्वजानिक गर्दैमा उनको त्यत्रो योगदानको कदापि मूल्याङ्कन हुँदैन । त्यसका लागि सके परिवारले नत्र राज्यले नै ट्रष्ट स्थपना गरी उनको सम्मान गनुपथ््र्यो । विपि, गणेशमान, मनोमोहन, गिरिजा, कृष्णप्रसाद भट्टराई जस्ता जनतामाराहरुको जवरजस्ती गुणगान लेखेर जीविका चलाउनेहरु प्रशस्तै छन् यो मुलुकमा । अझ उनीहरुकै नाममा ट्रष्ट खोलेर राज्यको ढिकुटी रित्याउदा हुँने तर याकथुङबा जस्तालाई बेवास्ता गर्नु ठूलो अन्याय हो । जानकारहरुका अनुसार—याकथुङ्वालाई देख्ने र जान्ने जिवित सय भन्दा धेरै योद्धाहरुको सहयोगमा एउटा गतिलो स्मृति ग्रन्थ निकाल्न सकिन्छ ।

याकथुङबाकी पहिलो श्रीमती सुक्रवती पहिल्यै मृत्यु भइसकेको छ । सुक्रवतीले पनि नेपाली जनतालाई मुक्ति दिलाउने त्यो महान अभियानमा अत्यन्तै ठूलो भूमिका रहेको जानकारहरु भन्छन । याकथुङबाको नाउँमा ज्ञानोदय बालवाटिका विद्यालय उनकी श्रीमती इन्दिराले सफलतापूर्वक सञ्चालन गर्दैछिन् । मधुकर र निराकर दुई छोरा, डा. भारती र पुनम दुई छोरीहरु छन् । भारती नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरक्षकको दर्जामा अवकास लिईसकेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *