युरोपियन युनियनले भन्योः आरक्षण प्रणालीबाट खस आर्यलाई हटाउ !

काठमाण्डु, ६ चैत – युरोपियन युनियनले प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको समीक्षा गर्दै उक्त समूहबाट खस आर्यलाई हटाउन सुझाब दिएको छ ।
नेपालमा गत मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार राजधानीमा निर्वाचन अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै खस आर्यलाई आरक्षण समूहबाट हटाउन सिफारिस गरेको हो ।
प्रतिवेदनले औँल्याएका २९ सिफारिसमध्ये प्राथमिकतामा परेका १० वटा सिफारिसमा मताधिकारको सुनिश्चितता गर्न भाडामा बस्ने तथा अस्थायी बासिन्दालाई मतदानको सुविधाका लागि मतदाता दर्ता स्थानान्तरणको अनुमति दिनुपर्नेमा जोड दिएको छ ।
युरोपियन युनियनले निर्वाचनको समयमा मत खरिदलाई निर्मूल पार्न जिम्मेवार अधिकारी, आयोग र नेपाल प्रहरीले वृहत्तर रूपबाट कानुनको कार्यान्वयन गर्न जोड दिएको छ ।
युरोपियन युनियनले गत ८ कार्तिकदेखि १९ पुससम्म निर्वाचनको पर्यवेक्षण गरेको थियो । युनियनको मिसनमा नर्वे, स्विट्जरल्याण्डसहित २८ देशका एक सय बढी पर्यवेक्षकहरू सहभागी थिए ।

सभार: काठमाण्डौ टुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *