‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव

पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।

सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं १ को नामकरण सैद्धान्तिक तथा वस्तुगत’को आधारपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश ‘क’का नवनिर्वाचित सभासद् सीता थेबेले प्रदेश १ मा लिम्बू भाषालाई सांस्कृतिक, भाषिक रुपले कामकाजी बनाउन प्रदेशसभामा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

प्रदेश नं १ नेपाली र मैथिलीपछि तेस्रो भाषाका रुपमा रहेको लिम्बू भाषा प्रादेशिक भाषा बन्नयोग्य रहेको मञ्चका सदस्य तथा भाषाविद् कुरुम्बाङको भनाइ छ । प्रदेश १ मा ४५ लाख ३४ हजार ९४३ जनसंख्यामध्ये तीन लाख ३१ हजार ६८५ लिम्बू छन् । सम्मेलनमा पाँचथरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटालगायत जिल्लाका प्रतिनिधि छन् । रासस

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *